Friday, June 26, 2009

गीत..............


निष्टुरि मायालुलाई............!

छाड्यौ लहरहरु केवल तिम्रा यादका,
भुल्न सकिन कसमहरु तिमीले खाएका,
थाहा भएन तिमी निष्ठुरी भईदियौं किन ?
मेरो जीवनबाट टाडाँ गईदियौं किन ?
छाड्यौ लहरहरु

बाँचेको थिए तिम्रै निम्ति म पनि,
साँचेको थिए खुशीहरु तिमीलाई नै भनि,
थाहै भएन थाम्न नपाई मैले तिम्रो हात,
छाडी सकेछौ तिमीले मेरो साथ
छाड्यौ लहरहरु

गाएको थिए तिम्रै निम्ति गीतहरु
छाएको थिए तिम्रै निम्ति प्रीतहरु
थाहै भएन बिर्सिसकेछौ तिमीले रितहरु
दिई आखाँभरि आँशुका शीतहरु
छाड्यौ लहरहरु

Sunday, June 14, 2009

Thursday, June 11, 2009

अन्जान मायालुलाई.........!!!

म ,तिम्रो अज्ञानी नजरको तिरष्कृत तृष्णा हुँ,
मलाई ज्ञानी आँखाले दृष्टि गर्ने प्रयत्न गर।
म,तिम्रो अनमोल मुस्कानहरुको प्रसंशक हुँ,
मलाई अविरल मुस्कानले स्वागत गर्ने प्रयत्न गर।
अनि म,तिम्रो जिवन प्राप्तिको लागि भौतारिरहेको एउटा भिखारी हुँ,
मलाई तिम्रो जिवनदान दिने प्रयत्न गर।

Saturday, June 6, 2009

जिन्दागि भित्र मान्छेहरु......




अहिले मान्छेको जिन्दागी त्यति सजिलो र सरल बिलकुलै छैन,जति कुनै बेला थियो।आजको समय भनेको प्रतिस्पर्धाको समय हो।जहाँ हर व्यक्तिको लोभ र तृष्णा दिनप्रतिदिन बढिरहेको छ।सबै भौतिक सुख सुबिधाको पछि दौडिरहेको छ।जसमा कसैले आफ्नो लक्ष्य प्राप्तिमा सफलता पाएको छन्,त कसैले असफलता।सफलता पाउनेहरु आफ्नो सफलताको मातमा यति मस्त भएका छन कि त्यहि सफलताले उनिहरुलाई असफलता तिर धकेलिरहेको छ,भने असफलताको ठक्कर पछि चेत आउनेहरु भने सफलतातिर बडिरहेका छन्।वास्तबमा,जीवनमा कहिले घाम त कहिले छायाँ..........कहिले दिन त कहिले रात............यहि नै जिन्दागी रहेछ....................

मान्छेलाई हर क्षेत्रमा सफलताको नयाँ आयाम स्थापित गर्न त्यति सजिलो छैन।अनेकौ बाधा अड्चनहरु उसको बाटोमा देखा पर्दछ।कहिलेकहि त आकस्मिक दुर्घटनाको कारणले सबै सफलताहरु चकनाचुर हुन जान्छ।तब मान्छेहरु ठगीएको महसुस गर्दछन्।कहिले लाखौ कोशिसको बाबजुद पनि सफलता हात पार्न सक्दैन,त कहिले बिना कोशिस पनि सबै कुराहरु प्राप्त हुन्छ।त्यसैले मान्छेले यो कुरालाई विषेश ध्यान दिनु पर्दछ कि असफलता नै सफलताको मार्ग दर्शन हो।जो मान्छे असफलताबाट निराश नभई आत्म चिन्तन गर्दछ,उसले चाडै नै सफलतालाई चुम्न सक्छ।तर जो हतास भएर निरासा भई हात बाँधेर बस्दछ,उसले जीवनमा सफलताको कुनै पनि क्षणलाई चुम्न सक्दैन।
हर व्यक्ति आशावादी हुन अति आवश्यक छ।समस्याहरुले छोपे पनि आशा गर्नु कहिले पनि छोड्नु हुन्न।अनि आत्मविश्वास गुमाउन पनि हुन्न।जो आत्मविश्वासको साथ आशा गर्दछ,उसैलाई नै सफलताले चुम्दछ।अनि यो कुराको पनि याद राख्नु पर्दछ कि जीवनको कुनै पनि मोडमा आईपरेको असफलतालाई लिएर कहिले पनि दु:ख मान्न हुन्न।बस त्यो क्षणको याद गर्नु पर्दछ कि आफुलाई सफलता मिलेको।यसैलाई प्रेरणा बनाएर आफ्नो साथी मान्नु पर्दछ।आफ्नो कोशिशलाई आफै तिव्र बनाउन पर्दछ।आफुलाई निराशा र कुण्ठितबाट बचाउनु पर्दछ।
आजको युवायुवतीहरु आफनो भविष्यलाई प्रेमजालको चक्करमा बरवाद गरिरहेका छन।प्रेमी युगल यदि दाम्पत्यमा बाँधिए त ठिकै हुन्छ।तर दुबैको दिल टुट्यो भने स्वाभाविक जीन्दागी जीउन पाउदैनन्।स्वास्नीमान्छे जो स्वाभावले नै भावुक हुन्छन।त्यसको असर सहन उनलाई धेरै कठिन पर्दछ।तर प्रेम विछोडमा परिणत भए पनि सबै कुरा समाप्त हुदैन।समय एउटा यस्तो मलम हो,जसले ठुलो ठुलो घाउ पनि निको पारि दिन्छ।प्रेमी होस् या प्रेमीका,जसलाई कोहि न कोहि त अवश्य नै मिल्छ नै जीवनमा।त्यसैले धोकेबाज प्रेमी या प्रेमीकाको कारणले आफ्नो जीवनलाई त्यसै वरबाद गर्नु हुदैन।जसलाई भुलेर रचानात्मक कार्यतिर ध्यान दिनु पर्दछ।अनि थाहा हुन्छ कि जिन्दागी कति मुल्यवान रहेछ भनेर?
प्रकृतिले दिन र रात अर्थात अध्यारो र उज्यालो त्यसै बनाएको छैन कि जसले यस कुराको बोध गराइरहेको छ कि हर रात पछि बिहान हुन्छ अनि दिन पछि फेरि रात अनि फेरि बिहान।त्यसैले नराम्रो दिन पनि स्थायी रुपमा रहदैन।त्यसपछी राम्रो दिन पनि अवश्य आउँछ।त्यसैले निराशाको अन्धकारमा डुबेर आफ्नो बाँकी जीवनलाई पनि अन्धकारतिर धकेल्नु उचित हुन्न।जुन समय बित्यो त बित्यो।आउने समयहरुको बारेमा सोच्नु पर्छ।राम्रो सोच्यो त सबै राम्रो हुन्छ।
हर व्यक्तिको जिबनमा उतारचढाव त अवश्य हुन्छ नै।राम्रो दिनहरुमा पराई पनि आफ्नो हुन्छ,त नराम्रो दिनहरुमा आफ्नो पनि पराई भईदिन्छ र कुरा काट्न थाल्छन।यहि नै यहाँको रित हो।तर यसमा बिचलित हुनु हुदैन।किनकि मान्छे धेरै नै स्वार्थी हुन्छ।उ तब कोहिसंग सम्बन्ध जोड्छ कि उसलाई त्यसमा फाइदा होस्।र तब सम्म सम्बन्ध राम्रो जोडी रहन्छ जब सम्म उसलाई फाइदा हुने आशा भईरहन्छ।त्यसैले मान्छेले आफ्नो लडाई आफै लड्नुपर्छ।अरुले त दर्शक बनेर तमाशा मात्र हेर्नेछन।अनि जीवनमा हर काम सोचेर थाल्नु पर्दछ।साथै दिने धेरै कम हुन्छन् भने साथ छोड्ने,खुट्टा तान्नेहरु धेरै हुन्छन्।आफनै मान्छे हुन्छ जो पछाडिबाट छुरा हान्ने अर्थात विश्वासघात गर्ने।त्यसैले वास्तविक साथी र दुश्मन चिन्नु सक्नु पर्दछ।
जब आफू दु:खी छौ त यो सोच्नु पर्दछ कि दुनियामा को खुशी छ?सायद कोहि छैन भनेर।दु:खको अगाडि हिम्मत हार्नु हुन्न।प्रयास गरेर दु:ख सुखमा नबदले पनि दु:खलाई सहने अन्तरशक्ति त मिल्छ।कोहि धनले धनि छन, त तनले कति नै गरिब।कोहि आफ्नो सन्तानबाट दु:खि छन् त कोहिले आफ्नो सन्तानलाई दु:खि बनाएका छन।कोहि पत्निबाट पिडित छन् त कोहि पतिबाट।कोहि पढेलेखेको छन त कोहि अनपढ।तन,मन र धनले कति मान्छे समृद्द छन्???बस्,जिन्दागीभित्र मान्छेहरु यसरी नै बाँचीरहेका छन्.....अनि बाँच्न पनि पर्दछ.....................
.........


"मेरो जिब्रोमा मेरो पहिचान"


म एउटा शिक्षित गाँउको लिम्बु परिवारमा जन्म लिइ हुर्केको व्यक्ति हुँ।बिहानी सुर्यको मधुरमय किरण र चराचुरुङ्गीहरुको हर्षोल्लाषको गीतहरुसंगै आफ्नो दुई साथीहरुको पछिपछि हलो र जुवा बोकेर भए पनि मेरा बाबुआमाले मलाई यसो उच्च शिक्षा हासिल गर्न जान सक्ने सम्म बनाउनु भएको छ।म पनि आफ्नो कर्तव्यलाई लगनशिलताको साथ केहि हदसम्म पुरा गर्न सफल भएको छु।जसले गर्दा मलाई यो महशुस भएको छ कि आज म पनि यो मेरो सानो गाँउको शिक्षित व्यक्तिहरुमा एक भएको छु कि जस्तो।तर किन मेरा साथि भनाउँदोहरु म बोल्दा मेरो लवज सुनेर खिसिका हाँसो हाँसिदिन्छन ?मेरो बोल्ने शैलिमा के त्यस्तो अनौठोपन छ होला ?मलाई यस कुराले अति सताइरहेको छ अनि मेरो अन्तरआत्मा तर्कहरुको अन्तरद्वन्द्व चलिरहेको छ।आखिरमा,अन्तरआत्माको आन्तरिक वादविवादबाट एउटै उत्तर पाउँछु।त्यो हो "मेरो जिब्रोभित्र मेरो अस्तित्व"।
हुन त एकातिर मलाई वर्तमान आधुनिकताले नछोएको पनि होइन अनि अर्कोतिर म एउटा आर्य समाज तथा आर्यन साथीहरु बिच हुर्केको व्यक्ति पनि हुँ।न त मलाई मेरो मातृभाषाको ज्ञान छ,न त मैले आफ्नो भाषा सिक्ने वातावरण नै पाए।प्राय मेरो साथीहरु पनि सबै आर्यन परिवारबाट नै छन्।हरपल उनिहरु कै साथमा मेरा समयहरु बित्ने गर्छ पनि।आधुनिक समयको एउटा शिक्षित व्यक्ति,जो आर्य समाजमा हुर्केको,तर उसको बोलिमा एउटा अनौठोपन।यस कुरामा उनिहरुमा हाँसोको खित्का छोडिनु स्वाभाबिक नै हो,जसलाई म स्वीकार्छु।तर किन खिसीको हाँसो ????????
जब म माध्यमिक तहमा अध्यानरत थिए,त्यस बेला पनि म बोलेको सुनेर आर्यन परिवारका मेरा मित्रहरु एकआपसमा हेराहेर गरेर हाँस्दथ्यो।तत्कालै किन हाँसियो भनि म प्रश्न गर्दथे।तर उनिहरु केहि नभएको भनि कुरालाई घुमाउथ्यो।तर यसबारे मेरो मनमा भने शंका उपशंका गठ्दथ्यो।मलाई नराम्रो महसुस हुन्थ्यो।यसरि नै समयहरु बित्दै गई रहेको थियो।धेरै समय पश्चात मलाई थाहा भयो कि म बोल्दा मेरो शब्द उच्चारणमा अनौठोपन सुनेर उनिहरु हासेका रहेछन्।यो थाहा पाएर मेरो मनमा उनिहरु प्रति कताकता रिस तथा घृणा जाग्दथ्यो।आफ्नै जिब्रो देखि पनि रिस उठेर आउँथ्यो।अनि आफैलाई प्रश्न राख्थ्ये कि -किन मेरो जिब्रोमा यस्तो अनौठोपन ?किन मेरो जिब्रोले नेपालको राष्टिय भाषा भनाउँदो खस शब्दहरुलाई स्पष्टसंग उच्चारण गर्न नसकेको कि यो भन्दा बाहेक मलाई अरु भाषाको ज्ञान पनि थिएन ?अर्थात मलाई मेरो मातृ भाषाको समेत ज्ञान थिएन कि जन्मे देखि नै मैले खस भाषा नै बोल्दै आइरहेको थिए।
तर आदरणिय मेरा मित्रहरु,तपाईहरु जति सक्नु हुन्छ त्यति खिसीका खित्का छोड्नुहोस्।अब मलाई त्यसमा रिस भन्दा पनि गौरव छ किनकि एक त खस मेरो मुख्य भाषा होइन,अर्को मलाइ मेरो मातृभाषाको ज्ञान नभएता पनि प्राकृतिक रुपमा मेरो जिब्रोभित्र मेरो मातृ भाषाको अस्तित्व लुकेको छ।त्यसैको असर हो कि मेरो जिब्रोले खस शब्दहरुको उच्चारणमा अनौठोपन देखाएको।म त्यसलाई सुधार्न चाहे पनि त्यो कहिले सुध्रिनेवाला छैन।किनकि त्यो मेरो अज्ञानि जिब्रोको प्राकृतिक अधिकार हो ,न त त्यसलाई कसैले रोक्न सक्छ,न त सुधार्न नै।मलाई लाग्छ,कतै मेरो अज्ञानि जिब्रो आफ्सेआफ वर्तमान समय र परिस्थितिसंगै पुर्णरुपमा परिवर्तन हुने त होइन ???कतै मेरो जिब्रोले आफ्नो चलाइलाई भौगोलिकक रुपमा नै नौलो आयम त दिने होइन???

Friday, June 5, 2009

Thursday, June 4, 2009