Saturday, June 6, 2009

"मेरो जिब्रोमा मेरो पहिचान"


म एउटा शिक्षित गाँउको लिम्बु परिवारमा जन्म लिइ हुर्केको व्यक्ति हुँ।बिहानी सुर्यको मधुरमय किरण र चराचुरुङ्गीहरुको हर्षोल्लाषको गीतहरुसंगै आफ्नो दुई साथीहरुको पछिपछि हलो र जुवा बोकेर भए पनि मेरा बाबुआमाले मलाई यसो उच्च शिक्षा हासिल गर्न जान सक्ने सम्म बनाउनु भएको छ।म पनि आफ्नो कर्तव्यलाई लगनशिलताको साथ केहि हदसम्म पुरा गर्न सफल भएको छु।जसले गर्दा मलाई यो महशुस भएको छ कि आज म पनि यो मेरो सानो गाँउको शिक्षित व्यक्तिहरुमा एक भएको छु कि जस्तो।तर किन मेरा साथि भनाउँदोहरु म बोल्दा मेरो लवज सुनेर खिसिका हाँसो हाँसिदिन्छन ?मेरो बोल्ने शैलिमा के त्यस्तो अनौठोपन छ होला ?मलाई यस कुराले अति सताइरहेको छ अनि मेरो अन्तरआत्मा तर्कहरुको अन्तरद्वन्द्व चलिरहेको छ।आखिरमा,अन्तरआत्माको आन्तरिक वादविवादबाट एउटै उत्तर पाउँछु।त्यो हो "मेरो जिब्रोभित्र मेरो अस्तित्व"।
हुन त एकातिर मलाई वर्तमान आधुनिकताले नछोएको पनि होइन अनि अर्कोतिर म एउटा आर्य समाज तथा आर्यन साथीहरु बिच हुर्केको व्यक्ति पनि हुँ।न त मलाई मेरो मातृभाषाको ज्ञान छ,न त मैले आफ्नो भाषा सिक्ने वातावरण नै पाए।प्राय मेरो साथीहरु पनि सबै आर्यन परिवारबाट नै छन्।हरपल उनिहरु कै साथमा मेरा समयहरु बित्ने गर्छ पनि।आधुनिक समयको एउटा शिक्षित व्यक्ति,जो आर्य समाजमा हुर्केको,तर उसको बोलिमा एउटा अनौठोपन।यस कुरामा उनिहरुमा हाँसोको खित्का छोडिनु स्वाभाबिक नै हो,जसलाई म स्वीकार्छु।तर किन खिसीको हाँसो ????????
जब म माध्यमिक तहमा अध्यानरत थिए,त्यस बेला पनि म बोलेको सुनेर आर्यन परिवारका मेरा मित्रहरु एकआपसमा हेराहेर गरेर हाँस्दथ्यो।तत्कालै किन हाँसियो भनि म प्रश्न गर्दथे।तर उनिहरु केहि नभएको भनि कुरालाई घुमाउथ्यो।तर यसबारे मेरो मनमा भने शंका उपशंका गठ्दथ्यो।मलाई नराम्रो महसुस हुन्थ्यो।यसरि नै समयहरु बित्दै गई रहेको थियो।धेरै समय पश्चात मलाई थाहा भयो कि म बोल्दा मेरो शब्द उच्चारणमा अनौठोपन सुनेर उनिहरु हासेका रहेछन्।यो थाहा पाएर मेरो मनमा उनिहरु प्रति कताकता रिस तथा घृणा जाग्दथ्यो।आफ्नै जिब्रो देखि पनि रिस उठेर आउँथ्यो।अनि आफैलाई प्रश्न राख्थ्ये कि -किन मेरो जिब्रोमा यस्तो अनौठोपन ?किन मेरो जिब्रोले नेपालको राष्टिय भाषा भनाउँदो खस शब्दहरुलाई स्पष्टसंग उच्चारण गर्न नसकेको कि यो भन्दा बाहेक मलाई अरु भाषाको ज्ञान पनि थिएन ?अर्थात मलाई मेरो मातृ भाषाको समेत ज्ञान थिएन कि जन्मे देखि नै मैले खस भाषा नै बोल्दै आइरहेको थिए।
तर आदरणिय मेरा मित्रहरु,तपाईहरु जति सक्नु हुन्छ त्यति खिसीका खित्का छोड्नुहोस्।अब मलाई त्यसमा रिस भन्दा पनि गौरव छ किनकि एक त खस मेरो मुख्य भाषा होइन,अर्को मलाइ मेरो मातृभाषाको ज्ञान नभएता पनि प्राकृतिक रुपमा मेरो जिब्रोभित्र मेरो मातृ भाषाको अस्तित्व लुकेको छ।त्यसैको असर हो कि मेरो जिब्रोले खस शब्दहरुको उच्चारणमा अनौठोपन देखाएको।म त्यसलाई सुधार्न चाहे पनि त्यो कहिले सुध्रिनेवाला छैन।किनकि त्यो मेरो अज्ञानि जिब्रोको प्राकृतिक अधिकार हो ,न त त्यसलाई कसैले रोक्न सक्छ,न त सुधार्न नै।मलाई लाग्छ,कतै मेरो अज्ञानि जिब्रो आफ्सेआफ वर्तमान समय र परिस्थितिसंगै पुर्णरुपमा परिवर्तन हुने त होइन ???कतै मेरो जिब्रोले आफ्नो चलाइलाई भौगोलिकक रुपमा नै नौलो आयम त दिने होइन???

No comments: